एकीकृत समाजवादीनिकट युवा संघले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउने-Sutra News

एकीकृत समाजवादीनिकट युवा संघले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउने

मंगलबार, १२ असोज २०७८

मंगलबार, १२ असोज २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउने भएको छ । गत ७ र ८ असोजको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारका लागि दुई महिने अभियान संचालन गर्ने अध्यक्ष नरेश शाहीले जानकारी दिए । अभियानकै क्रममा एक लाख ५० हजार नयाँ सदस्य बनाइने उनले बताए ।



उनका अनुसार ७७ वटै जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला गरिनेछ । बैठकले  कमिटीहरू गठन तथा पुनर्गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णयसमेत गरेको छ । यस्तै, अभियानलाई सफल पार्न ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना र ७७ वटा जिल्लामा ७७ जनाका दरले सात प्रदेशमा सात जनालाई सम्बन्धित कार्यक्षेत्रमा उपस्थित भई अभियानमा परिचालित हुने गरी जिम्मेवारी प्रदान गर्ने तथा सम्बन्धित कार्यक्षेत्रमा पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

अध्यक्ष शाहीले युवा संघका अब हुने कार्यक्रममा खादा, माला, फूल, गुच्छा प्रयोग नगर्ने निर्णय गरेको पनि बताए । युवा संघले अबदेखि हरेक कार्यक्रम तोकिएको समयमा हुने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरू नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

बैठकले विधानको मस्यौदा पारित पनि गरेको छ । नयाँ प्रस्तावित विधानमा नेपाली राजनीतिमा युवा उपस्थितिको संख्या बढाउन र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न तथा संघका सबै कमिटीहरूमा कम्तीमा एक चौथाइ २५ वर्षभन्दा कम उमेर समूहका युवालाई संगठित गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले युवाहरूलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउनका लागि ‘महिनाको दुई दिन, दुई घण्टा मेरो, राष्ट्रको लागि’ भन्ने अभियानसमेत संचालन गर्न लागेको महासचिव दीपक जीएमले जानकारी दिए । युवालाई उत्तरदायी बनाउने तथा समाजमा रहेका सबैखाले समस्याका विरुद्ध युवा परिचालन गर्ने उद्देश्यले उक्त अभियान संचालन गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट