काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर यतिबेला खटपट सुरु हुन थालेको छ । तर एमालेका उपाध्यक्ष भीम रावलले भने आफू नै इन्चार्ज भएको सन्देश दिएका छन् ।
मंगलबार बसेको एमाले कार्यदलको बैठकपछि उनले सुदूरपश्चिमको इन्चार्ज आफू नै रहेको कुटनीतिक संकेत देखाएका हुन् ।
रावलले १० बुंदेलाई जसरी पनि कार्यान्वयन गरेरै छाड्ने बताएका छन् । उनले इन्चार्जको विषय पनि १० बुँदे कार्यान्वयन भएपछि त्यस विषयमा टुंगो लाग्ने बताए ।
‘कार्यदलको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवशेनमा प्रतिनिधित्वको विषयमा जहाँ समस्या उत्पन्न भएका छन्, त्यसबारेमा हामीले छलफल गर्यौं,’ रावलले भने ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूका बारेमा छलफल गरेका छौं ।’
सुदूरपश्चिम इन्चार्जबारे पत्रकारको प्रश्नको जवाफ दिंदै उनले भने, ‘त्यो विषय १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउँछ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीका नेता लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएपछि ओली र रावलको दूरी बढेको नेताहरुले बताउँदै आएका छन् ।
एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलको जिम्मेवारी भीम रावललाई दिएपछि मंगलबार पहिलो बैठक बसेको थियो ।