काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनमा जोड दिए ।
निश्चित समयपछि रिटायरमेन्ट राजनीतिमा पनि हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछोड्ने नेताहरुको कार्यशैलीले जनतामा निराशा छाएको बताए । बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरुले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको भन्दै उनले कांग्रेसमा अब पार्टी सभापति, वरिष्ठ नेतालगायतलाई रिटायरमेन्ट दिएर अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा राखे ।
‘नेपाली कांग्रेस सधै जनताका लागि काम गर्दै आइरहेको छ । तर,वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ,’ नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेकोमा उनले जोड दिए ।