काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर देखिअगाडी सुरु भएको हो ।
आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने उपस्थित रहेका छैनन् । उनीहरुले सार्वजनिक रुपमा नै बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।
प्रधानमन्त्री देउवाले संसद अधिवेशन अन्त्य गर्ने संकेत देखिएको छ । हिजो बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमालेले सदन चल्न नदिए चाँडै सदन अन्त्य गर्ने तयारी बारेमा छलफल गरेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवा पनि अधिवेशन गर्ने तयारीमा रहेका छन् । देउवा पछिल्लो समय एमालेबाट रुष्ट बन्दै गएका छन् । सरकारमा सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध खासै राम्रो देखिएको छैन ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकबाट छिट्टै नै संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेका हुन् ।
देउवाले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
अहिले जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्रको उपस्थिति रहेको छ ।