काठमाडौं । शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकाे ८० दिन भयाे । चार गठबन्धन दलबीच मालदार मन्त्रालयकाे राेजाइले गर्दा अझै मन्त्रिपरिषद् विस्तार हुने अवस्था देखा परेकाे छैन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी (जसपा) को मन्त्रालय बाँडफाँडमा अड्डीका कारण मन्त्रिपरिषद् विस्तार थप अन्योलमा परेको खबर छ ।
दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय भएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइए पनि सत्ता साझेदार दलले एउटै मन्त्रालयमा दाबी पेश गरेपछि सकस परेको हो ।
यी दुई दललाई ५/५ मन्त्री र एक/एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ । तर यी दुवै दलले आकर्षक मानिने एकै मन्त्रालयमा दाबी गरेका छन् ।
हाल गृह, परराष्ट्र, कानून र स्वास्थ्य राज्यमन्त्री कांग्रेसले सम्हालिसकेको छ भने माओवादी केन्द्रको कोटाबाट अर्थ र ऊर्जा मन्त्री नियुक्त भइसकेका छन् ।
मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयमध्ये शिक्षा तथा विज्ञान, स्वास्थ्य तथा जनसंख्या, शहरी विकास र भौतिक पूर्वाधार नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । तर सत्ता साझेदार दल जसपाले पनि यही चार मन्त्रालयमा रुचि देखाएको छ । यीमध्ये कम्तीमा दुई मन्त्रालय आफ्नो दलले पाउनुपर्ने जनता समाजवादी पार्टीका भनाइ छ ।
‘माधव नेपालको पार्टीले दाबी गरेका आकर्षक मन्त्रालयमध्ये दुईमा जसपाले दाबी गर्ने र माधव नेपाल समूह यी चार मन्त्रालय कुनै पनि हालतमा नछाड्ने अड्डी कसेपछि समस्या भएको छ,’ स्रोतले भन्यो । साँघुन्यूज