गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार बागलुङको गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरूको तर्क थियो ।
नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगर प्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए ।
नगर प्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजंग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे । जनताको मतबाट चुनिएका नगर प्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो ।
स्थानीय नौबिसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षात्मा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए । विरोधको नेतृत्व गरिरहेका युवाहरू र जनप्रतिनिधिबीच केही बेर सवालजवाफ नै चल्यो । यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो ।
प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस गर्यो । युवाहरूले मानेनन् । नगर प्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे । अन्ततः नगर प्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सकेनन् । उनी आएर जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भएपछि वातावरण केही सङ्लियो । उक्त सडक यथाशीघ्र मर्मत, सुधार र दसैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए ।
अपराह्न ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो । यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ ?’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए । सडकमा गरालो तेर्स्याएर उनीहरूले यातायात सञ्चालनमा रोक लगाएका थिए ।
विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरूको उद्देश्य रहेको बताए ।
‘सुरुमा हामी युवाहरू निस्कियौँ, पछि स्वतःस्फूर्त रूपमा स्थानीयवासी जुट्नुभयो’, उनले भने, ‘वर्षौंसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो ।’
नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दुःखद रहेको स्थानीयवासीको गुनासो छ । उक्त सडकमा यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ ।
वडा नं ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो । वर्षायाममा त सडक हिलाम्मे भई क्षत्विक्षत् नै हुने गरेको छ । सो सडक हटियादेखि, हरिचौर–ताराखोलाहुँदै म्याग्दीको रुम जोड्ने सडकअन्तर्गत पर्छ ।
स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौँका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताए ।
उनका अनुसार तत्काललाई गिट्टीरोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ । ‘दसैँपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाहरूकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्योबापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ’, उनले भने ।
ठेकेदार कम्पनीले विसं २०७८ कात्तिकभित्रमा काम सक्ने गरी २४ करोड ७८ लाख ८४ हजार रुपैयाँमा सो सडक बनाउने जिम्मा पाएको थियो । निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुनः विरोधमा उत्रने स्थानीयवासीले बताएका छन् ।