एमाले अनुपस्थित भएको सर्वदलीय बैठकमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने विषयमा छलफल   -Sutra News

एमाले अनुपस्थित भएको सर्वदलीय बैठकमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने विषयमा छलफल   

बिहिबार, १४ असोज २०७८

बिहिबार, १४ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले र राप्रपा अनुपस्थित रहेका थिए । एमाले अनुपस्थित रहेको सर्वदलीय बैठकमा संसद्‌ अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत्‌ काम चलाउने कुरा उठेको छ ।



एमालेले निरन्तर बैठक अवरुद्ध गरे सरकारले अध्यादेश ल्याउने विषयमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेले संसद्‌ चल्न नदिएका कारण कैयौँ महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउन नसकिएको सरकारले बताउँदै आएको छ।

आजको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

आजको बैठकपछि सरकारका प्रवक्ता रहेका ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो ।’

सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए ।

त्यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव र  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्रको उपस्थिति रहेको थियो ।

बैठक एमालेले सार्वजनिक रुपमा नै बहिष्कार गर्ने निर्णय गरेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट