काठमाडौं- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । टेलिकमले यही असोज १५ देखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण गर्ने बताएको ।
टेलिकमका प्रवक्ता राजेश जोशीले निःशुल्क वितरण गरिने उक्त सिममा रु १० ब्यालेन्स हुने जानकारी दिए । साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा रहेको उनले बताए । उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने उनको भनाइ छ ।
टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध पाउने छन् । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्ने टेलिकमले जनाएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने निःशुल्क सिमको सुविधाले ज्येष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने टेलिकमले विश्वास व्यक्त गरेको छ ।