काठमाडौं- बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-२ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश-२, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राती पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । उनीहरूका अनुसार प्रदेश -२ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घन्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।