प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । हिजो बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका छन् ।
विपक्षी दलहरुले अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेपछि पदमा रहिरहन नमिल्ने भन्दै राजीनामा माग गरेका हुन् ।
राउतले भने अख्तियारको छापाप्रति कडा आलोचना गरेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा छापा मारेपछि उनले आपत्ति जनाएका हुन् ।
उक्त प्रदेशमा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न भनेर किनिएको साइकलको खरिदमा अनियमितताको शङ्का गर्दै अख्तियारले छापा मारेको थियो ।
अख्तियारका अधिकारीहरूले मुख्यमन्त्री कार्यालयबाट उक्त योजना सम्बन्धी कागजातहरू आफ्नो नियन्त्रणमा लिएका छन्।
उनले त्यसलाई “प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्र” को आरोप समेत लगाएका छन् ।
अख्तियारको टोली फर्केलगतै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर “अख्तियारको कारबाही प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले प्रेरित रहेको” बताए ।
उनले भने, “तरिका ठिक भएन। तपाईँ छानबिन गर्नुस् … तपाईँले सजिलै फाइल लिन सक्नुहुन्छ। त्यसमा कमीकमजोरी छ भने त्यसमा को दोषी छ कारबाही गर्न सक्नुहुन्छ। म तरिकाप्रति आपत्ति जनाउँछु।”