काठमाडौं- एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मी क्लब विजयी भएसँगै च्याम्पिनसिपको फाइनल समीकरण पूरा भएको हो ।
पुरुषतर्फको फाइनल खेलमा उपाधिका लागि हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड क्लब भिड्नेछन् । प्रतियोगिताको अन्तिम चारको भिडन्तमा पुरुषतर्फ हेल्प नेपालले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको पुलिस क्लबलाई भारतीय राष्ट्रिय भलिबल टोलीका खेलाडी सम्मिलित हेल्प नेपालले सोझो सेटमा पराजित गरेको हो ।
भारतीय ओलम्पिक टोलीका कप्तान विनित कुमार (चौधरी)सहित तिन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले नेपाल पुलिसलाई २५-१७, २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्यो । यता, पुरुषतर्फको दोस्रो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ३-० को सोझो सेटमै पराजित गर्यो । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको आर्मीले एपीएफलाई २५-१७, २५-१७ र २५-१९ सेटमा पराजित गर्यो । आर्मीका मानबहादुर श्रेष्ठ, ईश्वर थापा, राजेन्द्र विष्टलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यता, महिलातर्फको फाइनल खेलमा विभागीय एपीएफ र न्यु डायमण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहान भएको महिलातर्फको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्यो । यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले लगातार च्याम्पियनसिपको फाइनलमा स्थान बनायो । दुवै फाइनल खेल र तेस्रो स्थानको खेल भोलि (शनिबार) हुनेछन् ।