काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको ।
अधिवेशनको शनिबार उद्घाटन भएपनि नेतृत्वका चयनका लागि आज मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । १ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
महानगरको सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् ।
रञ्जितलाई सभापति शेरबहादुर देउवासहित ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थराम डंगोल लगायतका नेताहरूको समर्थन रहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन शाक्यलाई छ । काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि नेतृत्व चयन हुन लागेको छ ।