राजनीतिक इतिहासमा पहिलोपटक विधान महाधिवेशन आयोजना गरेको एमाले अझै पार्टी फूटको रापतापबाट अलग भएको छैन । गत शुक्रवारदेखि शुरू विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावित विधान संशोधनमाथिको छलफल अन्त्य भएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेकपालाई विभाजन गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसयता माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरूले एमाले रोजे ।
दल त्यागसम्बन्धी कानूनका आधारमा माओवादी केन्द्रका तत्कालीन नेताहरू सांसद पदमुक्त भइसकेका छन् । बादल पनि पदमुक्त भए । उनी खालि भएको आफ्नै सिटमा एमालेका तर्फबाट पुनः चुनाव लडे तर उनलाई खिमलाल देवकोटाले पराजित गरिदिए ।
यतिबेला एमालेका पूर्व माओवादी नेताहरू चुपचाप जस्तै देखिन्छन् । प्रभु शाह त विधान महाधिवेशनमा पनि देखिएनन् । उनले पार्टीलाई नेकपाकालीन संरचनाबाट नै अघि बढाउनुपर्छ भन्ने माग राखेको भएता पनि त्यसलाई सम्बोधन गर्न ओली तयार भएनन् ।
तर थापा भने अध्यक्ष ओलीको निकै प्यारो बनिरहेका छन् । एमालेका मध्यमार्गी नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिइरहेको भएतापनि ओलीले बादललाई बागमतीको इन्चार्जबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई ल्याउन चाहेनन् । नेकपाकालीन पोर्टफोलियोलाई नै निरन्तरता दिँदै बादल यतिबेला बागमती प्रदेशका इन्चार्ज कायम छन् ।
ओलीले थापालाई महत्त्व दिएर विधान महाधिवेशन मूल व्यवस्थापनको संयोजकको जिम्मेवारीसमेत दिए । ओलीले दिएको महत्त्वलाई रियलाइज गरेरै होला बादलले त्यसको अनुकम्पासमेत तिरेका छन् । जनताको बहुदलीय जनवादलाई शिरोपर गरेकोदेखि लिएर समाजवादमा जाने आधारसमेत भनेका छन् थापाले ।
गत बिहीवार एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य थापाले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् ।
थापालाई विधान महाधिवेशनको व्यवस्थापनमा खटिएको देख्न पाइन्छ । कहीं कतै समस्या भए त्यसको सबैभन्दा पहिलो रिपोर्टिङ थापाले लिने गरेका छन् । ६ हजार भन्दा बढी प्रतिनिधिलाई खाने, बस्ने व्यवस्थापन गर्नु चुनौतीपूर्ण विषय हो ।
बागमतीका इन्चार्ज रहेका थापा बरियताक्रममा भने मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्दा तल छन् । तर पछिल्लो समयमा ओलीको असाधारण माया पाएका छन् थापाले ।
गत पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटनदेखि नै थापाको रोजाईमा ओली परेका थिए । केही दिन मुख खोलेनन् थापाले, तर त्यसपछि ओलीले आयोजना गरेका कार्यक्रममा पुगेर क्रान्तिकारी भाषण गरेका थिए ।
त्यतिबेला सञ्चारमाध्यमहरूले ओलीले सहअध्यक्ष दिन्छु भनेर थापालाई आफ्नो क्याम्पमा ल्याएको चर्चासमेत गरेका थिए । एमाले आफैं समस्यामा परेकाले र माधवकुमार नेपाललाई साथ दिएका नेताहरूको समेत व्यवस्थापन गर्नुपर्ने भएकाले थापालाई सह-अध्यक्ष दिन ओली सफल भएनन् ।
माओवादी पृष्ठभूमिबाट एमालेमा लागेका थापाको सक्रियता एमालेकै अन्य नेताहरूको भन्दा बढेको छ । बाहिर खासै बोल्न नरुचाउने र मिडियाबाट टाढै रहने स्वाभावका बादल ओलीको संगतपछि अलि बढी खुल्न थालेका छन् ।
नवौं महाधिवेशनपछि नै ओलीको चर्को विरोधमा लागेका माधवकुमार नेपाल पक्षीय नेताहरू भने चुपचाप देखिन्छन् । उपाध्यक्ष भीम रावलले कविता लेखेर आफूलाई खल्लो लागेको बताएका छन् । घनश्याम भुसाल लगायतका नेताहरूको आवाज यसअघि बसेको केन्द्रीय समिति बैठकले सुनेन । दश बुँदे कार्यान्वयन गर्नुपर्छ भन्दै मध्यमार्गी नेताहरूले उठाएको आवाजलाई ओलीले एक कानले सुन्ने र अर्को कानले उडाउने गरिरहेका छन् ।
पूर्व माओवादी पृष्ठभूमिका नेताहरू ओलीको साथ पाएपछि एमालेमा बौरिन थालेका हुन् । अब मङ्सिरमा हुने भनिएको महाधिवेशनमा थापालाई ओलीले कुनै न कुनै राम्रो ठाउँमा सेटल गर्ने प्रतिबद्धता दिएका छन् ।