काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् ।
पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका उपमहासचिव पौडेलले एक अनलाइन न्यूजसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला। ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ। कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ। त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ ।’ उनले भने ।
उनले माधवकुमार नेपालले क्षणिक स्वार्थका लागि पार्टी फुटाएर गलत बाटोमा हिंडेको आरोपसमेत लगाएका छन् । त्यस्तै उनले एमालेको राष्ट्रिय महाधिवेशन समयमा नै हुने पुष्टिसमेत गरे ।
उनले भने, ‘महाधिवेशन निर्धारित समयमै हुन्छ। हिजो अध्यक्षले विधान महाधिवेशनको सन्दर्भमा बुटवलमा राष्ट्रिय महाधिवेशन आयोजना हुने कुरा घोषणा गर्नुभएको छ। भव्यतापूर्वक आयोजना हुन्छ ।’