काठमाडौँ । उपत्यकाको विभिन्न ठाउँहरुमा चोरी तथा पाकेटमारमा संलग्न २०७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई झन्डै दुई हप्ता लामो अनुसन्धानपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।
दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।
उनीहरुलाई दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले पक्राउ गरेको हो। पक्राउपर्नेमध्ये १६१ विरुद्ध अनुसन्धान भइरहेको, ४६ जना जेल चलान भइसकेको प्रहरीले जनाएको छ ।
उनीहरुले पैसालाई द, मोबाइललाई कान भन्ने गरेको पाइएको छ । केटालाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ आयो लगायतका भाषाहरु प्रयोग गर्ने गरेको पाइएको छ ।
उनीहरुलाई काठमाडौँको कलंकी, बालाजु, स्वयम्भु, नयाँ बसपार्कलगायतका ठाउँहरुबाट पक्राउ गरिएको हो ।
प्रहरीले दशैंलक्षित कार्यक्रम ल्याएर विभिन्न ठाउँहरुमा सादा तथा पोसाकमा प्रहरी खटाएको छ ।