प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन प्रस्तुत गर्न समय दिए । कानुनमन्त्रीले प्रतिवेदन पेश गरेपछि सभामुखले अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरु रोष्ट्रमअगाडि गएर नाराबाजी गरेका थिए। उनीहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन भन्नेलगायतका नारा लगाएका थिए ।
एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपनि सभामुख सापकोटाले बैठक अगाडी बढाएका थिए ।
पछिल्लो समय सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर रुपमा संसद बैठकमा अवरोध गर्दै आएको छ ।