काठमाडौं- नेकपा एकीकृत समाजवादीले अझै केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्न सकेको छैन ।पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक सकिएको १५ दिन बितिसक्दा पनि नेकपा (एस)ले आकांक्षी धेरै भएकाले केन्द्रीय कमिटीलाई पूर्णता दिन र जिल्ला इन्चार्ज तोक्न नसकेको हो ।
गत ४ र ६ असोजमा भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र जिल्ला इन्चार्ज तोक्ने एजेण्डा थिए । नेकपा (एस)का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपाल बिरामी परेकोले केन्द्रीय कमिटीलाई पूर्णता दिन र जिल्ला इन्चार्ज तोक्नमा ढिलाइ भइरहेको बताए ।
‘केन्द्रीय कमिटीमा मनोनीत गर्नेको नामावली र जिल्ला इन्चार्जको नाम टुंगिसकेको छ’, उनले भने, ‘अब चाँडै नै ती नामावली सार्वजनिक गर्दै छौँ ।’ नेकपा (एस)मा ३०१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ कमिटी पोलिटव्युरो रहने व्यवस्था गरिएको छ । अहिले नेकपा (एस)मा ११५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।
यस्तै, नेकपा (एस)ले अहिलेसम्म प्रदेश कमिटीलाई पनि पूर्णता दिन सकेको छैन । पहिलो केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा राखेर छलफल गरे पनि अहिलेसम्म गठन गर्न सकेको छैन ।