काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६६ औँ प्रहरी दिवस, २०७८ को अवसरमा बुधबार चैतमाया डंगोललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । आफू ८८ वर्षको हुँदा देशका प्रधानमन्त्रीबाट सम्मान पाउनुलाई डंगोलले भगवान्को आशीर्वाद मानेकी छन् ।
प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक डंगोल २००८ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन् । नेपाल प्रहरीमा पहिलो कन्स्टेबलका रूपमा ११ असार २००८ मा प्रवेश गरेकी डंगोलले ३१ वर्ष सात महिना २२ दिन प्रहरी सेवामा योगदान दिइन् ।
१८ वर्षको उमेरमा दाजुहरूले खेल खेल्न जाने भन्दै तालिम गराएको डंगोललाई याद छ । ‘तालिम गरेको चार महिनापछि तँ अब प्रहरी भइस् भनेर अरूले बधाई दिँदा म प्रहरीको जागिर खाँदिनँ भनेर झगडा गरेकी थिएँ’, उनी भन्छिन्, ‘जागिर नखाने भए तँलाई जेलमा हाल्छ भने अनि जेलमा जानु भन्दा प्रहरी नै बन्नु बेस, पैसा पनि पाइन्छ भनेर प्रहरीमा लागियो ।’
त्यो समय महिला प्रहरी बन्नु सजिलो नभएको उनको अनुभव छ । उनी भन्छिन्, ‘पाइन्ट लगायो भने पुलिस्नी भन्दै बाटोमा कति जिस्क्याउँथे ।’ बाहिर केही असहज महसुस गरेकी डंगोलले प्रहरी कार्यालयभित्रको वातावरण भने सहज भएको बताइन् । ‘महिला प्रहरी नियुक्त भएकामा सिनियरहरूले पनि काम सिकाउन खोज्ने, ड्युटी गर्न प्रोत्साहन गर्ने गर्थे, गल्ती हुँदा महिला भएका कारण कहिलेकाहीँ गाली पनि कम खाइन्थ्यो’, उनले भनिन् ।
सुरुमा प्रहरीको जागिर मन नपराएकी डंगोल प्रहरीको देशप्रतिको जिम्मेवारी बुझेपछि भने काम गर्न जोस आएको बताउँछिन् । आफ्नै बहिनीलाई समेत प्रहरी सेवामा भर्ना गराएकी डंगोल प्रहरीमा महिला सहभागिता बढ्नुपर्ने बताउँछिन् ।
प्रहरी प्रधान कार्यालयले मुलुकमा शान्ति, सुरक्षा कायम राख्न उच्च व्यावसायिक आचरणमा रही तोकिएको जिम्मेवारी उत्कृष्ट तवरले निर्वाह गरेकामा उनलाई सम्मान गरेको हो । कार्यक्रममा कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये सात जना अमर प्रहरीका परिवारलाई कदरपत्र प्रदान गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिविधि निस्तेज गर्न दृढ संकल्पित रहेको बताएका थिए । हालको परिस्थितिको कुनै पनि परवाह नगरी संगठनका प्रत्येक सदस्यहरू पेसागत कर्तव्य पालनामा अझ उच्चमनोबलका साथ कार्यसम्पादनमा खटिने अपेक्षा देउवाको थियो ।