सुत्केरीले भत्ता पाएनन्-Sutra News

सुत्केरीले भत्ता पाएनन्

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

म्याग्दी- बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् ।



हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ ।

अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् । बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरिन् ।

आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउन र स्वास्थ्यमा सुधार ल्याउन प्रोत्साहन भत्ता तथा यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बेनी अस्पतालमा गत साउनदेखि यही असोज २० गतेसम्म १२६ ले प्रसूति सेवा लिएका छन् ।

अस्पतालकी नर्सिङ इञ्चार्ज मनदेवी गौतमले सुत्केरीलाई रित्तै घर पठाउन बाध्य भएको बताइन् । ‘विगतमा सङ्घीय सरकारले पठाउने अनुदानबाट सोधभर्ना दिने गरी अस्पताल व्यवस्थापन समितिको बजेटले साउन १ गतेदेखि नै सुत्केरीलाई भत्ता दिने गरिएको थियो’, उनले भने, ‘यसपालि लेखापालले नमानेपछि सुत्केरीलाई भत्ता दिन सकेका छैनौँ ।’

गत आर्थिक वर्ष २०७७/७८ मा १२३ शल्यक्रियामार्फत गरिनेसहित ७३४ ले बेनी अस्पतालबाट प्रसूति सेवा लिएका थिए । लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट