गायक कर्णराजले ‘आमा’ लाई समर्पित गरे गीत-Sutra News

गायक कर्णराजले ‘आमा’ लाई समर्पित गरे गीत

बिहिबार, २१ असोज २०७८

बिहिबार, २१ असोज २०७८

काठमाडाैं- पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्‍याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी ।



संगीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी शोले पहिचान दिलाएको छ । टप टेनसम्म यात्रा तय गरेका कर्णले आफूले प्रस्तुत गरेको गीतहरूमार्फत दर्शकको मन जित्न सफल भए । 

यद्यपि उनको एउटा सपना भने अधूरै रह्यो । उनलाई गायन यात्रामा हौसला दिइरहेकी आमालाई उनले गुमाए । नेपाली सांगीतिक आकाशमा कर्णलाई देख्ने उनको आमाको सपना पूरा नहुँदै अन्त्य भयो । कर्णले आमा गुमाए । ‘आमाको सपना पूरा गर्न म भ्वाइसको मञ्चमा पुगेको थिएँ । त्यो खुसीसमेत आमाले साट्न पाउनु भएन,’ कर्णले भने । आमा विरामी रहँदा उनी प्रतियोगितामा सहभागी थिए । 

यसैले गर्दा आमालाई समर्पित गर्दै कर्णले गीत नै तयार पारे । उनले आमाको भावनालाई गीतमार्फत प्रस्तुत गरेको बताए । सार्वजनिक ‘आमा’ बोलको गीतमा कर्णको स्वर रहेको छ भने शब्द र संगीत किरण माइकलको छ । ‘म आमालाई समर्पित गरेर गीत तयार गर्ने सोचमा थिएँ । एक म्युजिक सिटिङमा कुराकानीकै क्रममा गीत तयार भयो,’ कर्णले भने । उनले एक रातमा लगभग गीत तयार गरेको बताए । एरेन्ज साहस शाक्य, ब्याकग्राउन्ड स्कोर विनय कार्की र मिक्सिङ मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

म्युजिक भिडियोमा स्वयं गायक गिरीका साथै सरिताराज उपाध्याय, सन्तोष केसी, राज चाम्लिङ राई, सुनिल थापामगर र सुरेश कोहिलसहित बाल कालाकारमा प्रियंस कँडेलको अभिनय देख्न सकिन्छ ।

शशान कँडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन, जिन्सोन क्षेत्रीको मेकअप रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट