काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डा मिलेपछि उनले आजै मन्त्रिपरिषद विस्तारलाई तीव्रता दिने तयारी गरेका हुन् ।
गठबन्धनका नेताहरुले सरकारमा सहभागी हुने आफ्नो पार्टीका नेताहरुको नाम देउवालाई बुझाइसकेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोट गर्ने काम लगभग अन्तिम चरणमा पुर्याएको छ ।
जसपामा प्रदेश २ बाट महेन्द्र यादव अमृता अग्रहरी, प्रमोद साहमध्येबाट एक जना मन्त्री बन्ने पक्का भएको बताइएको छ । त्यस्तै राजेन्द्र श्रेष्ठ र इस्तियाक राईको नाम पनि चर्चामा रहेको छ ।
त्यस्तै जसपाले महिलाबाट रेणु यादव र अमृता अग्रहरीबाट एक जनालाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।
देउवाले अढाई महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनका नेताहरुले नै आलोचना गर्न थालेका छन् ।