प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद बिस्तारमा भागबण्डा खोजेको चर्चा चुलिएकै बेला गजेन्द्र हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग मन्त्रीका रूपमा हमालको नाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका हुन् ।
हमाल विगतमा नेपाली कांग्रेसका जिल्लास्तरीय नेतासमेत रहेका थिए । संवैधानिक व्यवस्थाअनुसार हमाल ६ महिनासम्म मात्र मन्त्री बन्न पाउनेछन् । ६ महिनाभित्र उनी संघीय संसदको सदस्य भएनन् भने स्वतः मन्त्रीपद गुमाउने संवैधानिक प्रावधान छ ।
कार्यपालिका बिस्तारमा न्यायपालिकाले भाग खोजेको समाचार बाहिरिएपछि प्रधानन्यायाधीश जबराको आलोचना भएको थियो । सर्वोच्च अदालत र सरकार दुवैले यस समाचारको खण्डन गरेका थिए । तर राजनीतिमा खासै नाम नसुनिएका हमाल मन्त्री बन्ने भएपछि भागबण्डाको समाचार पुष्टि भएको भन्दैकतिपयले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।
हमाल प्रधानन्यायाधीश जबराका आफन्तसमेत हुन् ।