काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै अढाई महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई आज साँझ पूर्णता दिन लागेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि आजसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा सत्ता गठबन्धनकै नेताहरुबाट चर्को आलोचना खेप्नुपरेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा आपत्ति जनाएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले गत साउन २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै आफ्ना पार्टीका मान्छेहरुलाई प्रधानमन्त्री बनाइदिनका लागि आग्रह गरेका थिए । आफ्ना पार्टीका मान्छेहरुले नियमविपरित देउवालाई विश्वासको मत दिएका कारण उनले व्यंग्यात्मक शैलीमा मन्त्री बनाइदिनुपर्यो भन्दै देउवासँग आग्रह गरेका थिए ।
उनले भनेका थिए,’ प्लीज मेरो पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस् ।’
प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीको नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको जानकारी दिएकी छन् ।