मुगु बस दुर्घटना : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो, मृतकको संख्या ३२ जना पुग्यो-Sutra News

मुगु बस दुर्घटना : अगाडिको टायर पञ्चर भएर भीरबाट खस्यो, मृतकको संख्या ३२ जना पुग्यो

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुबाहक बस दुर्घटना मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ । २८ जनाको मुगुमै घटनास्थल तथा उद्धारका क्रममा र ४ जनाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।



‘उपचारका लागि १५ जना बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर शिक्षण अस्पताल पठाइएको हो । उपचारका क्रममा चारजनाको मृत्यु भएसँगै मृतकको संख्या ३२ जना पुगेको छ,’ उनले भने ।

तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगत्तै मृत्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए । उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी महतकाअनुसार दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । अहिले मृतकको शवलाई जिल्ला अस्पतालमा राखेर सनाखत भइरहेको छ । ‘शवहरु अस्पतालमा आफन्त आएर पहिचान गरिरहेका छन्,’ उनले भने ।

नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको बस मंगलबार अपराह्न पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।

बसको चालक साइडको पाग्रा पञ्चर भएर अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएको महतले बताए । ‘पञ्चर भएपछि बस बल्ड्याङ्ग खाँदै करिब २ सय मिटर तल खसेको थियो,’ उनले भने, ‘बस स्पिडमा थिएन । टायर पञ्चर भएर अनकन्ट्रोल भई खसेको हो ।’ बसमा चालक/सहचालकसहित ४५ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट