गण्डकीका नवनियुक्त डोबाटे भन्छन्- मिडियाको दबाबले काँग्रेसले मलाई मन्त्री बनायो-Sutra News

गण्डकीका नवनियुक्त डोबाटे भन्छन्- मिडियाको दबाबले काँग्रेसले मलाई मन्त्री बनायो

बुधबार, २७ असोज २०७८

बुधबार, २७ असोज २०७८

गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो कोटा पुर्‍याएको छ । यहाँ कोटा मात्रै पुगेन, मन्त्री मण्डलमा रेकर्ड कायम भयो । अघिल्लो सरकार हुँदा ७ जना मात्रै मन्त्रि थिए । एमाले नेतृत्वकै सरकारले मन्त्रालय फुटाएर ११ पुर्‍यायो । ७ बाट ८ सदस्यीय मन्त्रीमण्डल बन्यो । अन्तिम समयमा फुटाईएको मन्त्रालयमा मन्त्रि पनि नियुक्त गर्न नपाउँदै सरकार ढल्यो र गठबन्धनको सरकार बन्यो ।



कांग्रेस नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको समर्थन छ । जसपा र माओवादी सरकारमै सहभागी छ । स्वतन्त्र सांसद राजीव गुरुङ पनि मन्त्री पद सुनिश्चित गर्दै अघिल्लो सरकारको समर्थन छोडेर नयाँ गठबन्धनमा लागे । यहाँ झिनो बहुमत (३१ मात्रै) बाट सरकार बनेको हो ।

अहिले एमाले मात्रै विपक्षमा छ । एमालेसँग २७ सांसद छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई सोमबार विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिईसकेका छन् । दशैं लगत्तै मन्त्रीहरुको कार्यविभाजन पनि हेरफेर हुने बताईएको छ । डोबाटे साउन ८ मै मन्त्री बन्ने चर्चा थियो । अन्तिम समयमा उनको नाम मन्त्रीको सूचीमा परेन ।

त्यसपछि सन्चार माध्यमहरुले संविधान र समावेशी सिद्धान्तको विरुद्ध सरकार गएको भन्दै आलोचना गरे । सरोकारवालाको चासो पनि मन्त्री परिषद् विस्तारमा गयो । चौतर्फी दवाव पछि नेपालीले डोबाटेलाई मन्त्री बनाएका हुन् । उनी कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा गनिन्छन् । तर प्रदेशसभामा सभापति शेरबहादुर देउवाको प्यानल बलियो छ । मुख्यमन्त्री पौडेल समूहबाटै भएपनि आन्तरिक दवावका कारण उनले डोबाटेलाई मन्त्री बनाउन सकेका थिएनन् ।

अहिले सत्तारुढ गठबन्धनसँग पनि सल्लाह नै नगरी उनले मन्त्रीमा नियुक्त गरिदिए । मन्त्री नियुक्त भएपछि न्युज कारखानाले डोबाटेसँग कुरा गरेको छ । प्रश्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानीः

मन्त्री त बन्नुभयो, जिम्मेवारी के हो ?

मन्त्रालयको टुंगो छैन । सपथ खाएँ । अब संविधानले जे भनेको छ, मुख्यमन्त्री ज्युले जे जिम्मेवारी दिनुहुन्छ । त्यहि पुरा गर्छु । संविधानले दिएको अधिकारकै अधिनमा रहेर प्रदेशलाई समृद्ध बनाउन भुमिका खेल्छु ।

दुई महिनाअघि मन्त्री बन्नबाट बन्चित हुनुभयो । तपाईंको नाम अन्तिममा काटियो, अहिले कसरी मन्त्री बन्नुभयो ?

पार्टीमा छलफल भयो होला । मिडियाले धेरै चासो र चिन्ता ग-यो । मिडियाको दवावले पार्टीलाई महशुस भयो होला । पार्टीले गल्ती गरेको महशुस गरेर मन्त्री बनायो भन्ने ठानेको छु । यो संविधानको कार्यान्वयन हो । समानुपातिक सिद्धान्तलाई पालना ग-यो, गण्डकी सरकारले भन्ने बुझ्नुपर्छ । यो स्वभाविक प्रक्रिया हो, खुशीको अनुभुति गरेको छु । पार्टीभित्रको आन्तरिक कुरा हो । गौण रुपमा लिनुपर्छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउनु र तपाईं मन्त्रीमा नियुक्त हुनुमा कुनै तादम्यता छ ? कि मुख्यमन्त्रीले स्वविवेकले गर्नुभयो ?

प्रधानमन्त्री ज्यु पनि आउनुभएको थियो । त्यहाँ कुरा भयो । मैले पनि प्रधानमन्त्रीलाई भेटें । अरु कुरा त गरिनँ । आशिर्वाद मागें । प्रधानमन्त्री र सभापतिलाई कार्यकर्ताको हैसियतले भेट्नु सामान्य भयो । मैले आशिर्वाद चाहियो हजुर भनें । उहाँले आशिर्वाद दिनुभयो । मन्त्री भएँ । खुशी छु । दशैंको बेला मागेको आशिर्वाद लाग्दो रहेछ । मलाई पूरा भयो । एउटा विश्वास नै त रहेछ आखिर ।

मन्त्रालयको पनि छलफल भएको छ र ? कुन मन्त्रालयमा जाने चाहना छ ?

त्यस्तो कुनै कुरा भएको छैन । तर सल्लाह होला । मैले यो देउ भनेर भएन । सरकारले निर्णय गर्ने हो । प्रदेश सरकारले छिटै जिम्मेवारी दिन्छ भन्ने विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट