तेह्रथुम – कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् ।
भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ । बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए । ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने । उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन् । भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए । उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन ।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए ।
आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन । उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडँे ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन । भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे । राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ । तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए ।