सेलिब्रेटीको दसैँ योजना, कसले कसरी मनाउँदै छन् ?-Sutra News

सेलिब्रेटीको दसैँ योजना, कसले कसरी मनाउँदै छन् ?

शुक्रबार, २९ असोज २०७८

शुक्रबार, २९ असोज २०७८

बडा दसैँ नेपालीको घर आँगनमा प्रवेश गरिसकेको छ । अघिल्लाका बर्ष झै यसपालि पनि कोरोना संक्रमणको त्रास कायमै रहेकाले स्थिति त्यत्ति सहज भइसकेको छैन । यद्यपि, परम्परालाई निरन्तरता दिँदै चाडपर्व भने सबैले मनाउने गरेका छन् । चाडबाड मनाउन सर्वसाधारणले झै सेलिब्रेटीले विशेष योजना बनाउँने गरेका छन् । सेलिब्रेटीहरूलाई यसवर्षको दसैँलाई कसरी मनाउँदै हुनुहुन्छ ? लक्ष्मण सुवेदीले प्रश्न गरेका छन् । हेरौं उनीहरूको जवाफ :–



बल्ल दसैँ आए जस्तो लागेको छ 
भुवन केसी 

गत बर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैँ मनाउनु परेको थियो । तर यसपालि भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, सावधानी भने अपनाउनै पर्छ । म सर्वसाधारणले झै समान्य तवरले दसैँ  मनाउँछु । बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।

यो दसैँमा फूलपातीको दिनबाट मेरो बिशेष भूमिका रहेको सिनेमा ‘डाडाको वरपीपल’ प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको सिनेमा क्षेत्र चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ । सोभित बस्नेत भाईले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपालि दसैँ आएझैं महशुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिउन्, सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना ।   

पिङ चाहिँ खेल्नु पर्ला
रेखा थापा

यसपालि अघिल्लो बर्षभन्दा माहोल अलि रमाइलो छ । तर हामीले सावधानी चाहिँ अपनाउनै पर्छ । कोरोनाले गर्दा गतबर्ष त दसैँ साहै्र खल्लो भयो । यसपालि भने सबैतिर अलि सहज वातावरण छ । त्यसैले दसँैको रौनक अलि बढेको पाएकी छु । 

म यसपालि काठमाडौंमै दसैँ  मनाउँछु । मम्मीको हातबाट टीका लगाउँछु । सामाजिक दुरी कायम राख्दै आफन्तको हातबाट टीका लगाइ आशीर्वाद लिन्छु । यो दसैँमा स्पेसल त्यस्तो केही प्लान छैन । हलमा फिल्म प्रदर्शन हुन थालेको देख्दा खुशी लागेको छ । घर नजिकै सिफल चौरमा पिङ हालेका छन् । टीकाको दिन भुइँ छोड्नु पर्छ रे, त्यहाँसम्म पुगेर पिङ चाहिँ खेल्नु पर्ला । 

दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ 
दीपकराज गिरी

ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन । तर पनि दसैँ  आउँदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एकदम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भिडभाडले साँच्चै नै दसैँ  आएको महशुस गराएको छ । तर यसले संक्रमण बढ्ने हो की भन्ने डर छ । 
यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु । बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, के के चाहिन्छ, त्यतिन्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगिन्छ । पोखरा जाने की भन्ने सोचेको छु । दसैँ नभए ता पनि नेपाली दाजुभाई दिदीबहिनीमा दसैँ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।  

जुठो परेकाले दसैँ  छैन
–पूजा शर्मा 

जुठो परेकाले मेरो यसपालि दसैँ छैन । मलाई खासमा दसैँ  भन्दा तिहार मनपर्छ । झण्डै दुई बर्षयता कोरोनाका कारण सबैलाई घरमा थन्क्याइ रहेको थियो । अब भने स्थिति सामान्य बन्दै गइरहेको छ । फिल्म पनि रिलिज हुन लागेको छ । त्यसैले यसपालि धेरै खुशी लागेको छ । 

टीका लगाउन नहुने भए पनि दसैँले आफ्न्त, आफ्ना मान्छे भेटघाट, कुराकानी गर्ने अवसर जुटाइदिन्छ । त्यो नै खुशीको कुरा हो । म सम्पूर्ण नेपालीमा दसँैको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

सर्तक भएर मनाउनुपर्छ
–जीतु नेपाल 

दसैँकै लागि भनेर खासै कुनै योजना बनाएको छैन । विगतका दुई बर्षका दसैँ कोरोनाको भयले खल्लो बनायो । यसपालि भने अलि खुल्न पाइएको छ । तर सर्तक भने हुनैपर्छ ।

घरपरिवार, आफन्तसँग टीकाजमरा लगाएर, ठूलाबाट आशीर्वाद लिएर, सानालाई आशीर्वाद दिएर दसैं मनाइन्छ । सुसुराली जाने, खाइपीइ गर्ने, पिङ खेल्ने योजना छ । 

यसपालिको दसैँ  नयाँ मान्छेसँग
–प्रियंका कार्की

यसपालिको दसैँ  मेरा लागि बिशेष छ । भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ । हरेक दिन दसैँ  जस्तो फिल भइरहेको छ । बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुला छ । तर पनि सुरक्षित तवरले दसैँ  मनाउनु पर्छ । 

म पहिलाका बर्षहरूमा झ‌ैं सामान्य तवरले परम्परा निभाएर दसैँ  मनाउँछु । यसपालि छुट्टै केही प्लान बनाएकी छैन । सानोमा दसैँ  भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो । अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ । 

परिवार भेटघाट, खाइपीइ गरिन्छ
–आश्मा गिरी

पछिल्ला दुई वर्षको दसैँ  खुलेर मनाउन पाइएन । यसपालि पनि पूर्ण रुपले त्रासविहीन चाहिँ हुन सकिएको छैन । तर पनि लकडाउन नभएकाले स्थिति सामान्य बन्दै गइरहेको छ । त्यसैले यसपालि आफन्तहरूकोमा गएर टीका लगाइ दसैँ  मनाउन पाइने भएको छ । 

दसैँ  मलाई मन पर्ने पर्व हो । बाबा मम्मी, हजुरबुबा, हजुरआमाको हातबाट टीका लगाइ आशीर्वाद लिने, परिवारका सबै सदस्य जम्मा हुने, खानपीन, नाचगान गर्ने, हल्का तास पनि खेल्ने गरिन्छ । 

दर्शकसँग दसैँ  मनाउँछु
–सलोन बस्नेत

मलाई दसैँ मन पर्छ । दसैँ  आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि त फूलपातीको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ । त्यसैले यो दसैँ  दर्शकमाँझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ । दसँैको यो माहोलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।
 
घर, माइती दुवैतिर पुगिन्छ
–टीका प्रसाईं, गायिका

गत बर्ष कोरोना महामारीले गर्दा चाडपर्वमा समेत हिड्डुल गर्न सकस भयो । यसपालि भने स्थिति समान्य बन्दै गएको छ । त्यसैले यो दसैँ सिन्धुली र झापा पुगेर मनाउने योजनामा छु । घर र माइती, दुवैतिर पुगिन्छ । 

अब माहोल समान्य बन्दै गइरहेको छ तर पनि भीडभाडदेखि बचेर दसैं मनाउनु हुन म सबै जनामा आग्रह गर्छु । मेरो सम्पूर्ण शुभचिन्तकलाई बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट