दसैँको कोशेली : चाउचाउदेखि कोल्ड ड्रिङ्ससम्म-Sutra News

दसैँको कोशेली : चाउचाउदेखि कोल्ड ड्रिङ्ससम्म

आइतबार, ३१ असोज २०७८

आइतबार, ३१ असोज २०७८

खोटाङ – राई समुदायमा चाडवाडका समयमा आफन्तकहाँ पाहुना जाँदा कोसेली स्वरुप जाँडरक्सी, भुटेको मासु, सेल रोटी, फलफूललगायत लैजाने प्रचलन छ । कोसेलीपातमध्ये जाँड रक्सी अनिवार्य प्रयोग हुन्छ । तर, समयक्रमसँगै कोसेली संस्कृति फेरिँदो छ ।



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिमलगायतका स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, चाउचाउ, बिस्कुट लगायतका जङ्कफुडको अधिक प्रयोग हुन थालेको छ । 

दसैं तिहार, साकेला लगायतका चाडबाडका बेला भेटघाटमा आएका चेलीबेटीले झोलामा केही बोतल ड्यू र कोकका साथमा बिस्कुट, चाउचाउ, मिठाइ, चकलेट ल्याउने÷लैजाने गरेका छन् । सहजरूपमा जताततै पाइने र जाँडरक्सी नखानेका लागि भन्दै ड्यू, कोक लगायतका कोसेली अधिक मात्रामा प्रचलनमा आएको हो ।

यसवर्षका दसैँमा टीका थाप्नका लागि आउने पाहुनाले रक्सीसँगै ड्यू, कोक, बिस्कुट, चाउचाउ लगायत कोसेली ल्याएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका रहरमान राईले बताए । 

सडकको सहज पहुँच विस्तारसँगै पहाडी क्षेत्रका बजार तथा पसलमा ड्यू, कोक, बिस्कुट, चाउचाउ पाउन थालेपछि यसलाई कोसेलीका रूपमा पनि प्रयोग गर्न थालिएको हो । हलेसी तुवाचुङ नगरपालिका लगायतका पालिकामा करिब एक÷दुई दशकदेखि कोसेलीका रूपमा ड्यू, कोक, बिस्कुट, चाउचाउ प्रयोगमा आएको अनुमान छ । 

विगतका समय पेयपदार्थ बोक्नका लागि सिसाको बोतल प्रयोग गर्ने गरिएकामा हाल पेयपदार्थ बोक्नका लागिसमेत ड्यू, कोकको बोतल प्रयोग हुन थालेको पाइएको छ ।

गाउँघरमा ड्यूका जम्बो बोतलमा पानीसमेत ओसार्ने गरिएको देख्न सकिन्छ । कोसेलीपातका लागि एउटै टोलमा लाखौंको ड्यू, कोकजस्तो कोल्ड ड्रिङ्स खरिद हुने गरेको अनुमान गरिएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश वडालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्रमा पिउने पानीको चरम अभाव छ । सोही कारण पिउने पानी मागिए ‘डयू पिउन’ आग्रह गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट