धनगढी – कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ । नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ । तर कर्णालीमा पानीको अत्याधिक बहावले थ्रेटर पुर्न समस्या भइरहेको । सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ । तटबन्ध बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता विष्टले बताए ।
मंगलबार साढे १ बजेतिर तटबन्ध बगेको हो । कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्वर ५, ६, ७, ८ र ९ मा प्रभाव परेको छ ।