काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न सुदूरपश्चिम जाने भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले धेरै क्षति पुर्याएपछि उनी त्यता जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जानेछन् ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो ।
सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले जानकारी लिनेछन् । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ।