बागमती प्रदेशसभा बैठक शुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन आजको बैठक बसेको हो । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक ढिलो गरी सवा ४ बजेबाट शुरु भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् । उनले एमाले सरकारले गरेको कार्यप्रगति विवरण प्रस्तुत गरिरहेकी छिन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी फुटाउनका लागि ल्याइएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको विरोध गरेकी छन् । पार्टी फुटाउनका लागि ल्याइएको भन्दै उनले त्यसमा आपत्ति जनाएकी हुन् ।
बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार रहंदा उनले ल्याएको अध्यादेशको आफूले विरोध गरेका कारण अध्यादेश फिर्ता भएको उल्लेख गरेकी थिइन् । अहिलेको सरकारले संविधानको अपव्याख्या गरेर अध्यादेश ल्याएको आरोप लगाएकी छन् ।