काठमाडौँ । बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।
बिहीबार प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका छन् ।
नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ। उनी अल्पमतमा परेकी छिन् ।
मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा पछि बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन् ।
मुख्यमन्त्री शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।
हाल बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन् । शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ ।
अहिले विपक्षी गठबन्धन अन्तर्गत माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन् ।
विपक्षी गठबन्धनमा मत धेरै भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन गाह्रो छ ।