काठमाडौँ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
उनलाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाई शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको भन्दै १७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको बताइएको छ ।
आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।
सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर नगर घुमाइरहँदा प्रहरी भने प्रदर्शनकारीको अघिअघि मात्रै हिँडिरहेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले दुर्व्यवहार गरेका थिए ।