काठमाडौँ । नेकपा एमालेमा १० बुँदेको लफडा चलिरहेको छ । अध्यक्ष केपी शम्रा ओलीले १० बुँदेलाई कार्यान्वयन गर्ने संकेत नदेखाएपछि मध्यमार्गी नेताहरु आक्रोशित बन्न थालेका छन् ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकमा कार्यदलका संयोजक भीम रावलले राजीनामा दिए । उनको राजीनामापछि एमालेको भविष्य थप अन्यौलमा परेको विश्लेषकहरु बताउँछन् ।
उनको राजीनामालाई कसैले गम्भीर रुपमा लिएका छन् तर अध्यक्ष ओली भने त्यसलाई हल्का रुपमा लिएका छन् । पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताएका छन् ।
‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यो ठुलो कुरा भएन ।’ संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने ।
यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने १० बुँदेको कार्यन्वयन नगर्दा आफ्ना साथीहरुको हरिबिजोग भएको बताएका छन् ।
एमाले विभाजन नहुँदा माधवकुमार नेपालको पक्षमा लागेका नेताहरु विभाजन पछि एकता भन्दै ओलीकै साथमा रहेका छन् ।