प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तेस्रो धारका रूपमा परिचित ‘दश भाइ’ महाधिवेशनपछि एमाले छोड्ने सोचाइमा पुगेका छन् । असार २७ गते गरिएको दश बुँदे सहमतिमा अध्यक्ष केपी शर्मा ओली इमान्दार नदेखिएपछि उनीहरूलाई ‘फेस सेभिङ’ गर्न गाह्रो भइरहेको छ ।
एमालेले यही मङ्सिर १० देखि १२ गते चितवनमा दशौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । एमालेका तत्कालीन नेता माधवकुमार नेपालको पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १० स्थायी कमिटी सदस्यहरू महाधिवेशनपछि नयाँ सुरसारमा लाग्ने तयारीमा देखिएका हुन् ।
‘दश बुँदे सहमतिमा अध्यक्ष कमरेड इमान्दार देखिनु भएको छैन र लागू पनि गरिएको छैन,’ तेस्रो धारका एक नेताले भने, ‘महाधिवेशनपछिको माहोल हेर्छौं, त्यसपछि नयाँ ढंगले जान सकिन्छ । यसबारेमा हामी छलफलमै छौं । ‘
गत कात्तिक ३ गते बुधवार बसेको एमालेको बैठकमा ओलीले भनेका थिए, ‘एकठाउँ मिलेर एकतावद्ध भएर अगाडि बढौं न खुरूक्क । अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो ।’
दश बुँदे सहमतिप्रति कटाक्ष गर्दै ओलीले यसो भनेपछि तत्कालै भीम रावलले ट्वीटमार्फत यसको खण्डन गरेका थिए । ‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ,’ रावलले यस्तो ट्वीट गरेका थिए ।
त्यस्तै घनश्याम भुसालले ओलीको यस्तो अभिव्यक्तिले पार्टीको निर्णयको उल्लङ्घन भएको प्रतिक्रिया दिएका छन् । अन्य नेताहरू प्रतिक्रियाबिहीन रहेपनि भित्रभित्रै असन्तुष्टिको आगो फैलिरहेको छ ।
दश बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट रावलले राजीनामा दिइसकेका छन् । दश बुँदे सहमति कार्यान्वयन हुन ओलीले नै नदिएको भन्दै रावलले संयोजकबाट राजीनामा दिएका हुन् ।
शुक्रवार बसेको स्थायी कमिटी बैठकपछि रावलले सञ्चारकर्मीहरू सँग भनेका थिए, ‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ ।’
रावलको राजीनामालाई भने ओलीले सामान्य भनी प्रतिक्रिया दिएका छन् । शनिवार सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै ओलीले भने, ‘उहाँले राजीनामा के को गर्नुभयो ? के संयोजन सकिनँ भन्नुभयो । सहजीकरणको संयोजक हुनुहुन्थ्यो । मैले गरेर भएन भन्नु भयो । त्यत्रो ठूलो कुरा पनि होइन । त्यो लिखित पनि होइन । स्वीकार्य पनि होइन । अस्वीकार्य पनि होइन । केही पनि होइन ।’
ओलीको यस्तो रवैयापछि रावल र भुसाललगायत तत्कालीन एमालेका नेता माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहेका अन्य नेताहरू असन्तुष्ट बनेका हुन् । महाधिवेशनसम्म जसरी पनि बस्ने र त्यसपछि नयाँ माहोल खडा गरेर छुट्टै पार्टी या नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने उनीहरूको तयारी छ ।
गत भदौ २ गते तत्कालीन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भएको थियो । त्यसअघि नेता नेपाललाई साथ दिएका रावल, भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण बिष्ट, अमृत बोहोरा, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम आचार्य र रघुजी पन्तले ओली नेतृत्वकै एमालेमा रहने निर्णय गरे ।
तीमध्ये आचार्य र शाक्य मुख्यमन्त्री बनेका छन् तर दुवै अल्पमतमा छन् । केही दिनमा सत्ता गठबन्धनले उनीहरूलाई विस्थापन गर्नेछ ।
एकीकृत समाज्वादीका अध्यक्ष माधवकुमार नेपालले दश बुँदे भन्दै एमालेमै रहनेको हरिबिजोग भएको प्रतिक्रिया दिएका छन् । काठमाडौँ सम्पर्क मंचले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘एमालेमा दश बुँदे सहमति भन्ने नेताहरूले कुनै सम्मान पाएका छैनन् । कुनै मर्यादा छैन, कुनै सम्मान छैन । कुनै छलफल छैन । दश बुँदे भनेर बस्नेहरूको अहिले हरिबिजोग भएको छ ।’
नेकपा एसका एक नेताले दश बुँदे भनेर एमालेमै रहनेमध्ये कतिपय नेताहरू आफूहरूसँग छलफलमा रहेको बताएका छन् । ‘साथीहरू अप्ठेरोमा परेको हामीले थाहा पाएका छौं,’ ती नेताले भने, ‘महाधिवेशनपछि यतै आउँछौं भन्नुभएको छ । उहाँहरू हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । कहिलेकाँही कोटेश्वर पुगेरै अध्यक्षसँग भेटवार्ता पनि गरिरहनुभएको छ ।’