एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् ।
आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ ।
प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।’
काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए ।
‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने ।
झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।