राजीनामा दिने मूडमा प्रधानन्यायाधीश जबरा-Sutra News

राजीनामा दिने मूडमा प्रधानन्यायाधीश जबरा

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको आरोप लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राजीनामा दिने मूडमा पुगेका छन् ।



सोमवार उनले बोलाएको फूलकोर्टलाई सर्वोच्चका १४ न्यायाधीशहरूले बहिष्कार गरेका छन् । उनीहरू छुट्टै छलफलमा व्यस्त छन् । न्यायाधीशहरूबाट नै बहिष्कारमा परेका प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनुपर्ने भन्दै पूर्व न्यायाधीशहरूले विज्ञप्तिसमेत जारी गरेको अवस्था छ ।

‘प्रधानन्यायाधीशबाट नै न्यायालयमाथि हिलो छ्याप्ने काम भएको छ,’ फूलकोर्ट बहिष्कार गरेका एक नेताले भने, ‘उहाँको राजीनामा अब न्यूनतम बिन्दू हो । हामीलाई आशा छ, उहाँले मार्गप्रशस्त गर्नुहुनेछ ।’

सत्तारूढ गठबन्धनमा भाग खोजेको आरोप जबरालाई लगाइएको छ । उनको जेठान गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्रीसमेत बनाएका थिए । तर विवाद बढ्दै गएपछि दुई दिनमै हमाल राजीनामा दिएर बसेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संवैधानिक नियुक्तिमा जबराले भाग पाएको चर्चा चलेको थियो । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा प्रधानन्यायाधीश जबराले सुनुवाई गर्न चासो दिएका छैनन् ।

चौतर्फी दबाबमा परेका प्रधानन्यायाधीश जबराप्रति सर्वोच्च अदालतकै न्यायाधीशहरू कडा रूपमा प्रस्तुत भएका छन् । नेपाल बार एसोसिएसन तुलनात्मक रूपमा नरम देखिएको छ भने राजनीतिक दलहरूले यसबारेमा कुनै मुख खोलेका छैनन् ।

आफू दबाबमा परेपछि न्यायाधीश जबराले पेशी तोक्दा गोलाप्रथा अपनाउन सहमत भएका थिए । तर त्यतिमात्रले नपुग्ने र राजीनामै दिनुपर्ने न्यायाधीशहरूको दबाब छ ।

प्रधानन्यायाधीश जबरा विरुद्ध महाभियोग लगाउनुपर्ने आवाज उठेको भएपनि राजनीतिक दलहरूले त्यसबारे मौनता साँधेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट