जबराले तोके ११ इजलास, न्यायाधीशहरू भने ‘टाइम किल’ गर्ने बहानामा आन्तरिक छलफलमा-Sutra News

जबराले तोके ११ इजलास, न्यायाधीशहरू भने ‘टाइम किल’ गर्ने बहानामा आन्तरिक छलफलमा

बुधबार, १० कार्तिक २०७८

बुधबार, १० कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई बटमलाइन बनाएका सर्वोच्च अदालतमा १५ न्यायाधीशहरू आज तोकिएको इजलासमा उपस्थित नहुने बहाना खोजिरहेका छन् ।



साढे ११ बजेदेखि उनीहरू आन्तरिक छलफलमा बस्ने स्रोतले जनाएको छ । प्रधानन्यायाधीश जबराले बुधवारका लागि ११ इजलास तोकेका छन् । आफूसहित र अन्य न्यायाधीशलाई राखेर उनले तोकेको इजलासमा न्यायाधीशहरू उपस्थित हुनेछैनन् ।

मंगलवार न्यायाधीशहरूको समूहले जबरालाई भेटेरै राजीनामा दिन आग्रह गरेको थियो । जवाफमा जबराले राजीनामा दिने भए विवादमा रहेका सबै न्यायाधीशले दिनुपर्ने, आफू एक्लैले नदिने जवाफ दिएका थिए ।

मंगलवार बीबीसी नेपाली सेवासँग कुरा गर्दै जबराले राजीनामा नदिने बरू महाभियोग सामना गर्न तयार रहेको प्रष्ट पारेका थिए ।

जबराले आज तोकेको इजलासमा बहस गर्न नजाने निर्णय बार एसोसियसनले पहिल्यै गरेको छ ।

सत्तारूढ गठबन्धनमा भाग खोजेको र यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संवैधानिक नियुक्तिहरूमा भागवण्डा गरेको आरोप जबरामाथि छ ।

न्यायालय सुधार समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको अर्को आरोप जबरामाथि छ । तर जबराले यी सबै विषयको खण्डन गरिरहेका छन् ।

उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफू पछि नहट्ने बताएका छन् । आफू विधिसम्मत ढंगले प्रधानन्यायाधीश भएको र विधिसंगत हिसाबले नै हट्ने उनको जिकिर छ ।

अदालतमा न्यायाधीशहरूले नै विद्रोह गरेपछि जबरा यतिबेला गम्भीर मोडमा छन् । उनीमाथि यसअघि न्यायाधीश हुँदा गरेका फैसलाले पनि पीर थपिरहेका छन् ।

कानून तथा संविधानविदहरूले जबराको बहिर्गमन नै उपयुक्त हुने सुझाएका छन् । बिपीन अधिकारी, भीमार्जुन आचार्यलगायतका संविधानविदहरूले जबराको बहिर्गमन हुनु नै उपयुक्त हुने सुझाएका हुन् ।

जबराले स्वतः स्फूर्त रूपमा राजीनामा नदिए महाभियोगको प्रक्रियामा जानुपर्ने पूर्व प्रधानन्यायाधीशको समूहले माग गरेको छ ।

तर महाभियोग प्रक्रियामा जान राजनीतिक दलहरू इच्छुक देखिएका छैनन् । हिजो बसेको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जबराविरुद्ध महाभियोगमा नजाने आफ्नो निष्कर्ष सुनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सबै ५ जाना न्यायाधीशले नै राजीनामा दिनुपर्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा जबराको विषयमा तै चुप मै चुपको स्थितिमा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट