सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो एकल इजलास शुरू गरेका छन् । १५ न्यायाधीशले अदालतको इजलास बहिष्कार गरेपछि शून्य सुनुवाई हुन नदिन उनले आफ्नो इजलास शुरू गरेका हुन् ।
आफ्नै एकल इजलासमा राखिएको पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।
त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।
जबराले राजीनामा दिनुपर्ने मागसहित अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । नेपाल बार एसोसियसनले पनि इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।
अदालतमा देखिएको यस विवादका कारण विगत तीन दिनदेखि सुनुवाई हुन सकिरहेको थिएन । सेवाग्राही मर्कामा थिए ।
यही बीचमा जबराले आफ्नो एकल इजलासमा सुनुवाई थालेका हुन् ।