काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘मार्ग परिवर्तन’ दस्तावेज पारित भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले आफ्नो मार्ग परिवर्तन दस्तावेज दुई तिहाईले पारित भएको दाबी गरेका हुन् ।
बिहीबार रविन्द्र मिश्र पक्षले दस्तावेजमाथि छलफल गर्न भन्दै केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सो दस्तावेज बहुमतका साथ पारित भएको दाबी गरिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत संग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन् ।’
रविन्द्र मिश्रले ल्याएको प्रस्तावको विपक्षमा उभिएको समूह बलियो देखिए पनि पार्टीभित्र मिश्र पक्ष हाबी हुँदै गएको देखिएको छ । अध्यक्ष मिश्रले सहमतिमा आउन नसक्ने भए कम क्षतिमा अलग हुने बाटोमा अघि बढ्न सुझाइसकेका छन् ।
तर संयोजक मिलन पाण्डेको नेतृत्वमा रहेको समूह पार्टीको पुरानै लाइन छाड्न नहुने र पार्टी विभाजन पनि गर्न नहुने अडानमा छ ।