नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहनेको हरिबिजोग हुने टिप्पणी गरेका छन् ।
उनले एमालेको भविष्य खत्तम रहेको बताउँदै एमालेमा जाने कुरा कल्पनै नगर्ने बताएका हुन् ।
शुक्रवार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेमा बस्ने मान्छेको बेहाल हुने बताए ।
‘एमालेको भविष्य खत्तम छ,’ अध्यक्ष नेपालले भने, ‘त्यहाँ बस्ने मान्छेहरूको बेहाल हुन्छ । जतिसक्दो छिटो एमाले छोड्ने हो भने उनीहरूको भविष्य सुध्रन्छ । एमालेमा बस्नेहरूको हरिबिजोग हुनेवाला छ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमाथि हिलो छ्याप्ने काम गरेको आरोप लगाए ।
‘न्यायालयको विरोध केपी ओली र तिनका हनुमानहरूले मात्र गरेका छन्,’ अध्यक्ष नेपालले भने, ‘असंवैधानिक ढंगबाट दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए, त्यसलाई न्यायालयले सच्याएको छ । त्यसको प्रशंशा सबैले गरेका छन् ।’
अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनेबारे कुनै निर्णय नभएकोसमेत बताए । ‘अहिले महाभियोग लगाउने कुरा सम्भव छैन, हामीले छलफल पनि गरेका छैनौं,’ उनले भने ।