नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलले सहमति गर्ने बेलामा एमालेमा दुई जना अध्यक्ष बनाउने सहमति भएको बताएका छन् ।
दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट लिखित रुपमा राजीनामा दिदै उनले माधव कुमार नेपाललाई पनि एमालेको अध्यक्ष बनाउने सहमति भएको उल्लेख गरेका हुन् ।
असार २७ गते दशबुँदे सहमति भएपछि साउन ६ गते अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको रावलको भनाइ छ ।
‘दस बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलको दावी छ, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’