मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेसँगै चार जना मुख्यमन्त्री रहेको नेकपा एमाले अब कुनै पनि प्रदेश नेतृत्वमा नरहने भएको छ।
विश्वासको मत प्राप्त नहुने भएसँगै उनले प्रदेशसभा बैठकमा राजीनामा दिने बताएका हुन्।
प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए।
आजको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमा निर्णय गर्ने कार्यसूची तयार पारिएको थियो।
तर आचार्यले त्यो प्रक्रिया सुरु हुन अगावै प्रदेशसभा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
आचार्यले तत्काल प्रदेश प्रमुख समक्ष आफूले राजीनामा बुझाउने बताएका छन् ।
त्यस लगत्तै सभामुख प्रदीप कुमार भण्डारीले मुख्यमन्त्री आचार्यले संसद्मा राजीनामा घोषणा गरेकाले मत विभाजन गर्नु आवश्यक नरहेको जानकारी प्रदेश सँभालाइ गराएका थिए।
गत कार्तिक २५ गते मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभामा एमालेको एकल बहुमत रहेको अवस्थामा गत भदौ १० गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
आचार्य मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेका थिए।बीबीसी