प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ चाहेको खबर झुटो-Sutra News

प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ चाहेको खबर झुटो

सोमबार, १५ कार्तिक २०७८

सोमबार, १५ कार्तिक २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘ग्रेसफुल एक्जिट’अर्थात् सम्मानजनक बहिर्गमन झुटो भएको छ ।



पछिल्लो समय उनी विवादमा आएसंगै उनले सम्मानजनक बहिर्गमन चाहेको भन्दै खबरहरु सार्वजनिक भएका छन्।

उनले ग्रेसफुल एक्जिट चाहेको भन्ने खबर हल्ला मात्र भएको अदालत स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरूले छलफलपछि प्रधानन्यायाधीश समक्ष सम्मानजनक बहिर्गमनको आग्रह गर्ने निर्णय भएको स्रोतले बतायो ।

१९ जना न्यायाधीशका तर्फबाट सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा जबराबीच मंगलबार प्रधानन्यायाधीशले आफ्ना इजलासमा मुद्दा नतोक्ने र बन्दीबाहेकका पेसी नतोक्ने सहमति भएको छ । 

यो सहमतिपछि न्यायाधीशहरूले इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरे पनि अन्य मुद्दा भने सुनुवाइ नगर्ने अडान कायम नै राखेका छन् । 
वार्तामा जबराले आफूलाई चैत मसान्तसम्म न्यायिक सुधारका लागि काम गर्न दिन भनेपछि अन्य न्यायाधीशले लिखित सम्झौता गर्न भनेका थिए । तर जबराले न्यायिक नेतृत्वका हैसियतले आफूले ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) खोजेको भन्दै लिखित सहमति नगर्ने बताए । 

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलका अनुसार न्यायाधीशसँगको कुराकानीमा प्रधानन्यायाधीशले बन्दीबाहेकका इजलास नतोक्ने, आफूले मुद्दा सुनुवाइमा भाग नलिने प्रतिबद्धता जनाएका छन् । 

‘दुई कुरामा सम्माननीयज्यू सहमत हुनु राम्रो कुरा भयो, तर हाम्रातर्फबाट निकाससहितको लिखित प्रतिबद्धताको अडान छ, त्यसमा उहाँ अझै सहमत हुनुभएको छैन,’ न्यायाधीश फुयाँलले न्युज कारखानासँग भने ।

प्रधानन्यायाधीशले निकासका लागि मोडालिटी नै बनाउन प्रस्ताव गरेका कारण आजको वार्ता निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी अर्का एक न्यायाधीशले बताए । 

उनका अनुसार जबराले संवैधानिक प्रक्रियाबाट आएको व्यक्तिलाई जबर्जस्ती निकालेको अभियोग लाग्दा न्यायपालिकाको छवि बिग्रने चिन्ता व्यक्त गरेपछि न्यायाधीशहरूबीच तत्कालका लागि बन्दीका मात्र मुद्दा हेर्ने, बन्दीबाहेकका मुद्दाको पेसी सार्वजनिक भए सुनुवाइमा सहभागी नहुने सहमति भएको छ । 

‘प्रधानन्यायाधीशसँग केही विषयमा सहमति जुटे पनि मूल मुद्दामा निर्णय हुन बाँकी भयो, अब उहाँसँग गफ पनि गरिरहने, बन्दीका मुद्दा हेरिरहने कुरा भएको छ, थप कुरा छलफलपछि आउला,’ न्यायाधीश फुयाँलले भने । 

उनका अनुसार न्यायाधीशहरूबीच वर्तमान संकटको सहज निकासका लागि न्यायाधीशहरूले लचकतापूर्ण छलफल गरिरहने छन् । 

तर प्रधानन्यायाधीश भने आफूलाई मुद्दाबाट अलग राखेर प्रशासनिक काममा केन्द्रित गरेर भए पनि राजीनामा नदिई बस्ने अडानमा कायम छन् । ‘प्रधानन्यायाधीश जबरा आफ्नो राजीनामाबाहेक न्यायाधीशले उठाएका सबै एजेन्डामा लचक हुनुहुन्छ, मागको सम्बोधनको मोडालिटी पहिला प्रस्ट हुनुपर्छ भन्ने उहाँको स्पष्ट भनाइ छ,’ प्रधानन्यायाधीशको सचिवालयका एक अधिकृतले भने । 

उनका अनुसार न्यायाधीशको छलफलसँगै विस्तारै इजलासलाई सक्रिय बनाउने विषयमा जबराले बारका प्रतिनिधिसँगसमेत बेग्लै छलफल गर्ने तयारी गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट