‘अर्ली इलेक्सन’को बहस, सम्भावना के छ ?-Sutra News

‘अर्ली इलेक्सन’को बहस, सम्भावना के छ ?

बुधबार, १७ कार्तिक २०७८

बुधबार, १७ कार्तिक २०७८

देशमा अहिले अर्ली इलेक्सनको विषयमा चर्चा चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन गराउलान् या नगराउलान् भन्ने विषय यतिबेला सबैको चासोको विषय बनेको छ ।



पछिल्लो समय प्रतिनिधिसभाको बैठक स्थगित हुँदै आएको मात्रै छैन संसदको अधिवेशन नै अन्त्य गरिएको छ । पछिल्लोपटक पुनस्र्थापित प्रतिनिधि सभाको बैठक गत ३ साउनमा बस्यो । तर, त्यसयता बसेका हरेक जसो बैठक बिजनेसबिना नै चल्दै आएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै पछिल्लो पटक सुनियोजित रुपमा नै संसद बैठक अवरोध गर्दै आइरहेको छ । एमालेले आफ्नो दलले कारबाही गरेका सांसदलाई सभामुखले कारबाहीको सूचना टाँस नगरेर दल विभाजनका लागि सघाएको आरोप लगाउँदै आइरहेको छ । सोही कारण एमालेले संसद् चल्न दिएको छैन ।

मुलुकमा अर्ली इलेक्सनको चर्चा चलेको भएपनि तत्काल नहुने अवस्था देखिएको नेताहरुले बताउंदै आएका छन् । सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी दल भने अर्ली इलेक्सनका लागि तयार छैनन् । देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वैशाखमै चुनावमा जान नसकिने स्पष्ट पारिसकेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई अर्ली इलेक्सनमा जान आफ्नो तयारी नपुग्ने भएकाले संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने धारणा राखेको बताइएको छ ।

नेकपा एकीकृत समाजवादी पनि अर्ली इलेक्सनको पक्षमा छैन । ‘संविधानमा अर्ली इलेक्सनका बारेमा केही लेखिएको छैन,’ अध्यक्ष नेपालनिकट एक नेताले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दा संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने फैसला गरेको थियो । त्यसैले अर्ली इलेक्सनको बहस संवैधानिक दायराभित्र छैन ।’

गत असार २९ गते प्रधानमन्त्री देउवाको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको थियो । सरकार बनेको तीन महिनापछि मात्र मन्त्रिपरिषदले पूर्णता पाएको थियो ।

अर्ली इलेक्सनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने तयार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट