दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको ?’ यो प्रश्नले तनहुँ भिमाद नगरपालिका–८ धरमपानीका गोविन्द अधिकारीको मन अमिलो भयो र त्यतिबेलै उनले प्रण गरे अर्को साल जसरी पनि आफ्नै बारीमा सयपत्री फूलाउँछु ।
दिदीले ल्याएको मालालाई नै उनले बिऊ बनाएर बारीमा परीक्षण स्वरुप लगाए । त्यही सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहर लाग्दो भयो । ‘त्यही वर्ष मालाको सयपत्रीलाई बिऊ बनाएर बिरुवा लगाउँदा ६० हजार रुपैयाँ जतिको व्यापार गरे होला,’ गोविन्द सम्झन्छन् ।
कोदो खेती गरेर मरिमेटी गर्दा मुस्किलले एक मुरी नफल्ने बारीमा ६० हजार रुपैयाँको फुल फुलेपछि उनी हौसिए । गोविन्दले यसपालि बर्षौदेखि बाँझिएको साढे चार रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाँझिएको बारी मात्रै होइन धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।
चितवनबाट कलकत्ते (सुन्तले रंगको) सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । बर्षौदेखि कोदो समेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फुल फुल्दा वातावरण नै मनमोहक बनेको छ । रपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको शुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।
उनले लगाएको एउटै बोटमा ६० वटासम्म सयपत्रीको थुंगा छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले बजार पनि सजिलै पाउने उनी बताउँछन् । उनले फूलको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फुल देखेपछि हामी लैजान्छौँ भनेर व्यापारीको फोन आइरहेको छ,’ उनले भने, ‘बर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल ल्याइन्छ भनेपछि बजार पाउन दुःखै छैन् । उत्पादन गरेमात्रै भो, पैसा लिएर व्यापारी घरमै आउने भए ।’ माग धेरै आएपछि आफुले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाइ गर्ने योजना रहेको अधिकारीले बताए । गत बर्ष लगाएको सयपत्री फुल सबै घरबाटै विक्री भएको उनी बताउँछन् ।
एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब हानिए । १० बर्षको बसाइपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचे जस्तो सन्तुष्टी मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो । फेन्सीमा पनि सोचे जस्तो नभएपछि किराना पसल चलाए । जुन अहिले पनि छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन । गत बर्ष लगाएको सयपत्री फूलमा भने उनको मन अडिएको छ ।
सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपालि व्यवसायिक तरिकाले लागेका उनी अर्को बर्ष फूल खेतीलाई अझ विस्तार गर्ने योजनामा छन् । ‘यहाँका धेरै युवा फूल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामूहिक रुपमै लाग्छौँ होला,’ अधिकारीले योजना सुनाए । गाउँमा रहेका बाँझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फूललाई प्रतिस्थापन गर्ने सुर कसेको उनले बताए । तिहारको बेला मात्र नभएर हरसमय फूल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए ।