नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि आगामी १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार हुन् । प्रधानमन्त्रीसमेत रहेका हालका सभापति शेरबहादुर देउवानिकट रहेर लामो समय राजनीति गरेको निधिले देउवालाई जानकारी गराएरै १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दिएका थिए ।
१३ औं महाधिवेशनमा देउवालाई साथ दिएका निधिबाट १४ औं महाधिवेशनमा पनि देउवाले साथ खोजेका थिए । तर निधिले त्यसलाई उपेक्षा गरेर आफूलाई नै सभापतिका रूपमा अघि बढाउने मेसोमेलो मिलाएपछि कांग्रेसको आन्तरिक राजनीतिमा फेरबदल आएको मानिएको छ ।
प्रस्तुत छ निधिसँग सूत्रटिभीले गरेको अन्तर्वार्ताको सम्पादित अंश –
सभापतिमा उम्मेदवारी दिनुभएपछि तपाईंको व्यस्तता निकै बढेको जस्तो देखिन्छ, नेता कार्यकर्ताको भेटमा यहाँलाई कत्तिको ऊर्जा मिलेको छ ?
कार्यकर्ता साथीहरूसँग मेरो भेटघाट हुनु स्वाभाविक हो । महाधिवेशनमा सभापतिको उम्मेवार भएको कारणले पनि र म आफैंले पनि समर्थन खोजेको कारणले पनि मैले पनि साथीहरूसँग भेटघात गर्न चाहन्छु, साथीहरूले पनि भेटघाट गर्न चाहनु भएको छ । म धेरै उत्साहित भएको छु । साथीहरूले समर्थन गर्ने, मत दिने कुरा अत्यन्त हर्षका साथ भनिरहनुभएको छ ।
कैयौं जिल्लाहरूमा वडा अधिवेशन पनि हुन सकेको छैन । अहिले पनि कार्यकर्ताको विवाद टुंगिएको छैन, तपाईंहरू आधा दर्जन भन्दा बढी नेता हामी सभापति बन्छौं भनेर हिंड्नुभएको छ, यो असान्दर्भिक भएन ?
तेह्रौं महाधिवेशनमा तीन जना प्रतिस्पर्धी हुनुहुन्थ्यो, त्यसपछि जति पनि उम्मेदवारहरू छौं, ४/७ दिनमा गएर आफ्नो तयारी त गर्न सक्दैन नि । जसले सभापतिको उम्मेदवार हुन सोचिरहनु भएको छ, त्यसका लागि त देशभरका नेता कार्यकर्तासँग छलफल गर्नुपर्छ । यो लोकतान्त्रिक पार्टी भएकाले यहाँ महाधिवेशन प्रतिनिधि मात्र होइन, नागरिक समाज, लोकतान्त्रिक समाज र बुद्धिजीवीहरूको पनि ओपिनियन लिनुपर्छ । त्यसका लागि समय चाहिन्छ । तपाईंले प्रयोग गर्नुभएको असान्दर्भिक शब्द नै असान्दर्भिक छ ।
प्रश्नको संकेत कहाँनेर हो भने कसरी पार्टीको विवाद हल गर्नेभन्दा पनि तपाईंहरूको रेस चाहिँ कसरी आफू बलियो हुने भन्ने देखिन्छ नि !
त्यस्तो होइन । क्रियाशील सदस्यता विवाद टुंगो लगाउन अब २ वटा जिल्ला मात्र बाँकी छ । त्यो काम पनि भइरहेको छ भने सँगसँगै उम्मेदवार हुन चाहनेहरूले आफ्नो काम पनि त गरिरहनु पर्यो नि । त्यो मात्र होइन, महाधिवेशनको अलावा राष्ट्रिय राजनीतिको काम पनि सँगसँगै गरिरहेका छौं । सरकारको नेतृत्वबाट केपी ओलीलाई हटाएर पाँच दलीय गठबन्धनको नयाँ सरकार पनि त बनाएका छौं । त्यसैले सबै कामहरू सँगसँगै हुन्छन् ।
१३ औं महाधिवेशनमा तपाईं शेरबहादुर देउवाको सारथी बन्नुभयो । तर १४ औं महाधिवेशनमा तपाईंहरूको सम्बन्धबिच्छेद हुन लागेको हो ?
नेपाली व्याकरणमा भएजस्तो सन्धी र विच्छेद राजनीतिमा हुँदैन । म सभापति उठ्छु भन्ने कुरा शेरबहादुर देउवालाई पहिलादेखि नै थाहा थियो । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिन्छु भनेको छु, यो तपाईंको अधिकार हो भनेर भन्नुभएको छ । १४ औं महाधिवेशनमा धेरै दृष्टिकोणले म सभापतिको उम्मेदवार हुन्छु भनेर सबैलाई भनेको छु । सबैसँग सहकार्य छ ।
सबैसँग सहकार्य भएको भएपनि महाधिवेशनमा देउवाको साथ त तपाईंले पाउने देखिएन नि !
अझै पनि समय छ, मेरो अपेक्षा छ । अझै पनि शेरबहादुरजीले मलाई समर्थन गर्नुहुन्छ भन्ने मलाई लाग्छ । उहाँमात्र होइन, रामचन्द्रजी, शशांकजी, शेखरजीहरूले पनि मलाई समर्थन गर्नुहुनेछ भन्ने विश्वास छ ।
आउने महाधिवेशनमा देउवाले छोड्नुपर्छ भन्ने तपाईंको धारणा हो कि, तेह्रौं महाधिवेशनमा सभापति पदमा उठेका सबैले चौधौं महाधिवेशनमा छोड्नुपर्छ भन्ने हो तपाईंको धारणा ?
साझा कोही मान्छे उम्मेदवार बन्छ भन्ने सबैले साथ देओस भन्ने चाहना राख्नु स्वाभाविक हो नि । मैले पनि अरुले उम्मेदवारी नदिउन भन्ने चाहन्छु, तर छोड्ने कि नछोड्ने त उहाँहरूको कुरा होला नि । मैले प्रयास गरिरहेको छु । प्रयास गर्ने त मेरो अधिकार हो नि !
१४ औं महाधिवेशनमा यहाँको सभापतिमा उम्मेदवारी किन ?
आगामी आम चुनावमा कांग्रेसलाई जिताउनका लागि मेरो उम्मेदवारी हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली आएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति, यो नौ वटा फण्डामेन्टल एलिमेन्ट हुन्, यसको रक्षा कम्युनिस्टले गर्न सकेन ।
कम्युनिस्टको पालामा सबै क्षत विक्षत भइसकेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै अस्तव्यस्त छ । अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ । जनताको दैनिक जीवन अस्तव्यस्त भएको छ । यो सबै भएको कारण गत आमनिर्वाचनमा रुखले बहुमत प्राप्त नगर्नाले हो । म कांग्रेस सभापति बनेपछि पार्टीलाई सत्तामा ल्याएर यी अस्तव्यस्त भएका फण्डामेन्टल विषयहरूलाई सही ट्रयाकमा ल्याउनेछु ।
युवा पुस्ता धेरै संख्यामा नेपाली कांग्रेसमा सदस्यता लिनुभएको छ । ३५ प्रतिशत युवाहरू पार्टीका सक्रिय सदस्य हुनुहुन्छ । कांग्रेसलाई हेर्नुहुन्छ भने पुस्ताको जाम लागेको छ । रुपान्तरणसँगै पुस्तान्तरण पनि जरुरी छ । यसका लागि पनि म सभापतिको उम्मेदवार भएको हुँ । म सहजकर्ता सभापतिका रूपमा उभिन चाहन्छु ।
अन्तर्वार्ताको बाँकी अंश भिडियोमा –