सत्तारूढ गठबन्धनले आउँदो उपनिर्वाचनमा नेकपा एमालेलाई पत्तासाफ गराउने नियतका साथ मोर्चा बनाएको छ । आसन्न उपनिर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर एमालेलाई एक सीट पनि नदिने रणनीतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।
सोमवार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रिय सभा र उपनिर्वाचनलाई लक्षित गरी प्रतिपक्षमा रहेको एमालेलाई हराउने रणनीति बनाएको छ ।
उक्त रणनीतिलाई कार्यान्वयनमा लैजान पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय भएको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीका २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहने सहमति भएको छ भने संयन्त्रमा नरहेपनि प्रधानमन्त्री शेरबहादुर देउवा भने कार्यदलको बैठकमा सहभागी हुनेछन् ।
आलोपालो नेतृत्व हुने गरी संयन्त्र गठन भएको छ । आलोपालो सहमतिअनुसार पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् । त्यसपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयन्त्रको नेतृत्व गर्ने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
अहिले संयन्त्रमा कांग्रेसका तर्फबाट संयोजक पौडेलसहित कृष्ण सिटौला, माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र अर्का एक जनाको नाम दिन बाँकी, जसपाका तर्फबाट उपेन्द्र यादव र अर्का एक जनाको नाम दिन बाँकी, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र सांसद दुर्गा पौडेल रहनेछन् ।
संयन्त्रले सरकारको कामकारवाहीमा समन्वय गर्नेछ साथै गठबन्धनबीच आन्तरिक अन्तरविरोध भए त्यसलाई निवारणसमेत गर्नेछ । संयन्त्रले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा तालमेल गर्ने खाकासमेत तयार गर्ने बताइएको छ ।
सत्तारूढ गठबन्धनले बनाएको यस संयन्त्रलाई प्रतिपक्षी दल एमालेले भने नौटंकीको संज्ञा दिएको छ । ‘संविधानले नै नचिन्ने संयन्त्रको के काम ? बरू आगामी चुनावमा एमालेविरुद्ध तालमेल गर्ने संयन्त्र भनेको भए हुन्थ्यो,’ एमालेका एक नेताले भने, ‘एमालेको शक्ति देखेर डराउने अनि गठजोड गरेर त्यसलाई संयन्त्रको नाम दिनु जरुरी छैन ।’
सत्तारूढ दलका एक नेताले भने संयन्त्र कसैसँग डराएर बनाइएको नभई सरकार संचालनका लागि समन्वय गर्न बनाइएको बताए । ‘एमाले आफ्नै कारणले कमजोर भइरहेको छ, त्यसको विरुद्ध हामी पाँच दलले किन गठजोड गरिरहनुपर्यो ?’ उनले भने, ‘बरू गठबन्धनलाई झन् कसिलो बनाउन संयन्त्र बनाइएको हो । हामी राष्ट्रिय सभा र उपनिर्वाचनसम्म मात्र होइन, आम निर्वाचनसम्म नै गठबन्धनमा रहनेछौं ।’
तर नेपाली कांग्रेसका नेता गगन थापाले चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताउँदै आएका छन् । उनले सार्वजनिक सम्बोधनमा निर्वाचन कांग्रेस एक्लै लड्ने बताउने गरेका हुन् ।
सरकारले औपचारिक रूपमा घोषणा नगरेपनि उपनिर्वाचन छिट्टै गर्ने सत्तारूढ दलका नेताहरू बताउँछन् । अबको केही दिनमा गठबन्धन दलका नेताहरू बसेर उपनिर्वाचनको मिति टुंगो लगाउने बताइएको छ । करीब एकतिहाइ संख्यामा रिक्त हुने राष्ट्रिय सभा भने फागुन २० गतेभित्र पूर्ण भइसक्नुपर्ने छ ।
उपनिर्वाचनका लागि कहाँ–कहाँ रिक्त छ सीट ?
दल अदलबदलका कारण हाल प्रतिनिधिसभाका ४ सीट रिक्त छन् । चारै सीटमा एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार विजयी थिए, तर उनीहरूले नेकपा विभाजनपछि एमाले रोजे । रौतहट क्षेत्र नं. ३ बाट निर्वाचित प्रभु साह, अर्घाखाँची क्षेत्र नं. १ बाट टोपबहादुर रायमाझी, कैलाली क्षेत्र नं. ३ बाट गौरीशंकर चौधरी र कैलालीकै क्षेत्र नं. ४ बाट लेखराज भट्ट एमाले प्रवेश गरेपछि ती क्षेत्र रिक्त बनेका हुन् ।
त्यस्तै, सातै प्रदेश सभामा गरी १८ सीट रिक्त छन् । प्रदेश सभामा प्रदेश १ मा १, प्रदेश २ मा ३, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा ६, कर्णालीमा ५ र सुदुरपश्चिममा १ पद गरी १८ पद रिक्त रहेका निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । ताप्लेजुङ–१ (२) मा माओवादीबाट निर्वाचित टंक आङ्बुहाङले दल त्याग गरेपछि सो पद रिक्त छ । त्यस्तै, धनुषा–१ (२) मा रामचन्द्र मण्डल, रौतहट–३ (२) मा कुन्दनप्रसाद कुशवाहा र बारा–३ (१), ज्वालाकुमारी साह निर्वाचित थिए । माओवादी केन्द्रबाट निर्वाचित उनीहरू सबैले दल त्याग गरेपछि ती पद पजि रिक्त छन् । दोलखा–१ (२) मा नेकपा एमालेबाट निर्वाचित पशुपति चौंलागाईको गत बैशाख २८ गते निधन भएको थियो । उनको मृत्यु भएपछि सो पद रिक्त छ ।
सांसद कृष्ण थापा राष्ट्रिय जनमोर्चाबाट निष्काशित भएपछि उनी निर्वाचित क्षेत्र बाग्लुङ–१ (२) पनि रिक्त छ । रुपन्देही–१ (२)मा दधिराम न्यौपाने, गुल्मी–२ (२) दिनेश पन्थी, कपिलवस्तु–२ (१) मा दृगनारायण पाण्डे, दाङ–२ (२) मा अमरबहादुर डाँगी, रुपन्देही–३ (१) मा सन्तोषकुमार पाण्डेय, बाँके–२ (१) मा विजयबहादुर यादव निर्वाचित थिए । दल त्याग र राजीनामाका कारण ती सबै पद रिक्त छन् । माओवादी केन्द्रबाट निर्वाचित न्यौपाने र पन्थी एमाले प्रवेश गरेका छन् भने एमालेबाट निर्वाचित पाण्डे र डाँगीले राजीनामा दिएका छन् । पाण्डेय र यादव संघीय समाजवादी फोरमबाट निर्वाचित थिए । उनीहरू पार्टीबाट निष्काशित भए ।
त्यस्तै, दैलेख–१ (१) मा माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मीले दल त्याग गरेका छन् । दैलेख–१ (२) मा नेकपा एमालेबाट निर्वाचित अम्मरबहादुर थापा, कालिकोट–१ (२) मा कुर्मराज शाही, डोल्पा–१ (१) नन्दसिंह बुढा र सल्यान–१ (२) प्रकाश ज्वाला एमालेबाट निष्काशित भएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशको अछाम–१ (२) मा माओवादीबाट निर्वाचित झपटबहादुर बोहराले पनि दल त्याग गरेका छन् ।