१० औँ महाधिवेशनमा विद्युतीय मतदानको अभ्यास गराउँदै एमाले-Sutra News

१० औँ महाधिवेशनमा विद्युतीय मतदानको अभ्यास गराउँदै एमाले

मंगलबार, २३ कार्तिक २०७८

मंगलबार, २३ कार्तिक २०७८

नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ । “आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं”, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, “पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनु्भएको छ ।”



उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उनले जानकारी दिए। एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।

निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट