को हुन् योगेश्वर आमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्नेहरू ?-Sutra News

को हुन् योगेश्वर आमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्नेहरू ?

बुधबार, २४ कार्तिक २०७८

बुधबार, २४ कार्तिक २०७८

कुमारी बैंक पर्सा शाखाका कर्मचारीहरूले गायक योगेश्वर आमात्यको बारास्थित १२ बिगाहा जग्गाको नक्कली लालपूर्जा बनाएर बिक्री गरेको खुलेको छ ।



प्रहरीका अनुसार बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकूर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरासिया, मुक्तिनाथ गौतम र यसकुमार महर्जनले आमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गरेका हुन् ।

आमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर बेनियल ट्रेडिङ कम्पनीलाई बेचिएको थियो । गौतम र महर्जन उक्त कम्पनीका संचालक रहेको प्रहरीको भनाइ छ । तीमध्ये ३ जनालाई केही दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ गरेको थियो भने चौरासियालाई मंगलवार पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

आफ्नो जग्गा नक्कली लालपूर्जा बनाएर बेचिएको सूचना पाएपछि गायक आमात्यले उजुरी दिएका थिए । उनको उजुरीका आधारमा अनुसन्धान गर्दा बाराको १२ बिगाहा जग्गा बेचिएको थाहा भएको हो ।

नक्कली लालपूर्जा बनाएर जग्गा बेचेपछि कुमारी बैंकबाट १९ करोड निकालिएको थियो ।

आमात्यको जग्गा बिरुवा भूमि वनकाली कम्पनीको नाममा थियो । उक्त कम्पनीको नाममा भएको जग्गालाई किर्ते गरी नयाँ लालपूर्जा निकालेर बैंकबाट ठगी गरिएको हो ।

पर्सा शाखाबाट केन्द्रीय शाखामा ऋण प्रवाह गर्न अनुमति मागिएपछि कुमारी बैंकको केन्द्रीय कार्यालयले ऋण दिन स्वीकृति दिएको थियो ।

यस प्रकरणमा केन्द्रीय कार्यालयका कर्मचारीको पनि मिलेमतो हुन सक्ने प्रहरीले जनाएको छ । बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारीहरू पनि यतिबेला छानबिनको दायरामा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट